सुशीला रेग्मी
रामपुर (पाल्पा) । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । हालै कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुवात भएपनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको छ ।
कम जनशक्तिका बाबजुद पनि सेवा दिदै आएको कार्यालयमा गत पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थपिएको छ । सेवा विस्तार गरी नागरिकलाई सेवा दिन पाउनु राम्रो कार्य हो तर कर्मचारी अभावमा काम गर्न अति समस्या परेको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताए ।
उनी भन्छन्, “कर्मचारीको अभाव भएपनि हामीले निकै कष्ठका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसंग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ, सम्बन्धित निकायले जतिसक्दो चाडो कर्मचारी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ” । राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर हामीसंग हाल एकवटा कम्प्युटरबाट मात्रै सेवा दिनु परेको उनी बताउँछन् । कर्मचारी अभावले कार्यालय सहयोगी र सरसफाई कर्मचारीलाई नागरिकता विभागको जिम्मेवारी दिनु परेको प्रमुख कार्कीको भनाइ छ ।
कार्यालयमा एक कार्यालय प्रमुख, नायव सुब्बा एक, खरिदार दुई, सहायक लेखापाल एक, कम्प्युटर अपरेटर एक जना स्थायी दरबन्दी रहेको छ । हाल भने एक कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुई जना कार्यालय सहयोगी, एक जन सरसफाई कर्मचारी कार्यरत छन् । कार्यालय सहयोगी सीता पंगेनी, शेरचन राना र सरसफाई कर्मचारी जानकी रानाले नागरिकता विभागको काम सम्हाल्नु परेको छ ।
रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताए । हाल कार्यालयमा राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागबाट यही पुस ३ गतेदेखि एक जना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ ।यस कार्यालयमा दैनिकजसो एक सय सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको छ ।
रामपुर ४ भिमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताइन् । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिएकी केसीले खुशी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहिल गर्ने सबैलाई धन्यवाद दिइन् । “राहदानी बनाउन मेरो काखको बच्चा भएकाले सदरमुकाम तानसेन आवतजावत गर्ने झण्झटले जान सकिएको थिएन, अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उनले खुशी हुँदै भनिन् ।
गत पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाएका थिए । नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाए ।
भाडाको घरबाट सेवा दिदै आएको कार्यालयले यस आर्थिक वर्षदेखि नयाँ भवनबाट सेवा दिइरहेको छ । रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका वडाका नागरिकले यस कार्यालयबाट सेवा लिदै आएका छन् । रामपुर, निस्दी र पूर्वखोलाका १७ वटा वडाका नागरिक प्रत्यक्ष लाभान्वित बनेका छन् । कार्यालयबाट यसअघि नेपाली नागरिकता वितरण, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवासंगै हाल राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा थपिएको छ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु ४ करोड ५६ लाख ७७ हजार ५७१ बराबरको लागतमा गत असारमा भवन निर्माणको कार्य सम्पन्न भएको हो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसंगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।
सेवा विस्तारसंगै राहदानी र राष्ट्रिय पत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । वि.सं २०७३ मा तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो । रासस
Comments are closed.