वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको ५ महिनामा डिजेलको आयात १ दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि ६ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को ५ महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको ३ लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवको सोही अवधिमा भने रु ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको ३ लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको ५ महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ । चालु आवको ५ महिनाको अवधिमा रु १६ अर्ब २१ करोड २ लाख २७ हजार पर्ने १ लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने १ लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ । यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन् । रासस

lcci
You might also like

Comments are closed.