काठमाडौं । एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । गत पुस ५ र ६ गते यात्राको आयोजना गरिएको हो । राइड अन्तर्गत सहभागीले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका छन् ।
यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिइएको छ ।कार्यक्रममार्फत आयोजकले सहभागीलाई रोमाञ्चक यात्राको अनुभवका साथै सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका छन् । “राइड फर चेन्ज” पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए ।
भिमसेन मावि एक दुर्गम विद्यालय हो । यहाँ १३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । यात्रामा सहभागीले विद्यार्थीको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।
यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलो पटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । रोमाञ्चक साहसिक गतिविधि र सीएसआर योगदानको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बताएको छ ।
एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । यस्ता पहलको माध्यमबाट समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए ।
Comments are closed.