सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

इलाम । उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

“किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेर उत्पादन वृिद्ध गर्न सहकारीमार्फत सामूहिक खेतीमा प्रोत्साहित गरिएको हो”, अध्यक्ष केरुङले भने, “पालिकाका ३ वडामा १४२ कट्ठा जमिनमा खेती गरिएको छ । चुलाचुली कृषि सहकारीको लागत साझेदारी छ । तीन बिघामा खुमल जातको रातो आलु रोपिएको छ । आलुखेती दुई वटा सहकारी र एक समूहमार्फत सञ्चालन भइरहेको छ ।”

आलु पकेट कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुवास दाहालले जानकारी दिए । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा पहुँच पु¥याउन आलुको व्यावसायिक खेती परियोजना थालिएको शाखा प्रमुख दाहाल बताउँछन् । उनका अनुसार, यो कार्यक्रम गाउँपालिकाको वडा नं २, ३ र ४ मा चलिरहेको छ । “वडा नं २ मा १५ कट्ठा क्षेत्रफलमा रोपिएको आलु उम्रिएको छ । ३ नं वडामा रोप्ने काम सकिएको छ भने वडा ४ मा आलु रोप्न जमिन ठिक्क पारिएको छ” दाहालले भने ।

कृषि प्राविधिक खेतबारीमै पुगेर आलुको मल र बिउबिजन छनोट गर्न सिकाउँछन् । “कृषि प्राविधिक किसानसम्म पुगेर प्राविधिक ज्ञान दिइरहेका छन् । उत्पादन गुणस्तरीय र धेरै हुनेमा हामी ढुक्क छौँ ।” कृषक सन्तोष शर्माले भने, “चुलाचुली कृषि उत्पाादनको उर्बर भूमि हो । यहाँको उत्पादनलाई बजारको समस्या छैन । तराई भेग भएकाले राम्रो मूल्यमा बिक्री हुन्छ ।” गत वर्ष खेतबाटै आलु बिक्री भएको भन्दै धेरै खेती ग¥यो भने आलु किन्ने ग्राहक खेतमै आउने शर्मा बताउँछन् ।

गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन यो कार्यक्रम थालिएको उपाध्यक्ष दिलकुमारी लिम्बूले बताइन् । “कृषिमा रोजगारी सृर्जना गर्नुछ । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाएर निर्वाहमुखी खेती प्रणालीको अन्त्य गर्ने हाम्रो लक्ष्य हो ।” उपाध्यक्ष लिम्बूले भने, “किसान सामूहिक रुपमा काम गर्दा उत्साहित पनि छन् । उत्पादन गुणस्तरीय बनाउनुछ ।”

स्थानीय दिलीप राईले तीन बिघा जमिन पाँच वर्षका लागि भाडामा लिएर आलुखेती गरिरहेका छन् । उनी पालिकाभरिमै सबैले भन्दा बढी क्षेत्रफलमा आलु रोप्ने किसान हुन् । चुलाचुली कृषि सहकारीले आलुको बीउ रोप्न ५० जनाभन्दा बढी श्रमिक, तीन सय केजी डिएपी मल र १२ सय केजी गड्यौले मल प्रयोग गरेको संस्थाका अध्यक्ष मिलन राईले जानकारी दिए ।

चुलाचुलीबाहेक पनि जिल्लाका अन्य पालिकामा आलुखेती हुने गरेको छ । विशेषतः इलामका उच्च पहाडी भेगमा एमएस, डेजिरे, बिटे, सेतोआलु तथा झ्यालेलगायत जातका आलु उत्पादन हुने गरेको हो । लेकाली क्षेत्रका सबैजसो किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । ६ हजार ८१५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९÷८० मा जिल्लामा ६ हजार ९९६ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । सो क्षेत्रफलमा १ लाख १७ हजार ८८३ मेट्रिक टन उत्पादन भएको थियो । रासस

lcci
You might also like

Comments are closed.