धरान (सुनसरी) । विराटनगरबाट साथीहरुसँगै घुम्न आएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहेको अवस्थामा भेटिइन् ।
धरानबाट ३ किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुगेकी उनले पहिलोपटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताइन् । विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देखेकी हुन् । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उनको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उनले भनिन् ।
मनिशा र डेनिस मात्रै होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट ६ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरु खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।
पहिले उजाड र सुनसान गाउँका रुपमा रहेको यहाँ ४ वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बराल बताउँछन् । उनी भन्छन्, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।”
पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरुको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताए । पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरुको आकर्षण बढेको हो । सुरुमा रु.५ करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी ७ करोड पुगेको जनाइएको छ । पार्क अढाइ बिघा क्षेत्रफलमा फैलिएको छ । रासस
Comments are closed.