साबुन उत्पादन गर्ने उद्यमीलाई स्तरोन्नती सम्बन्धी सीप विकास तालिम

रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नं.२ का साबुन उत्पादन गर्ने उद्यमीलाई स्तारोन्नती सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । अर्गानिक नुहाउने साबुन उत्पादन गर्ने उद्यमीलाई थप स्तरोन्नती सम्बन्धी हार्पिक, फिनेल, ह्याण्डवास र कपडा धुने डल्ला साबुन सम्बन्धी सीप विकास ५ दिने तालिम प्रदान गरिएको छ ।

रामपुर नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलालाई तालिम प्रदान गरिएको हो । रामपुर नगरपालिका वडा नं.२ का वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरिराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि घिमिरेले स्थानीय स्तरमा हुने यस्ता विभिन्न कार्यक्रमले रोजगारीको सृजना संगै आयस्तरमा वृद्धि गर्ने बताए । तालिममा सिकेका सिपको माध्यमबाट व्यवसायीक जीवनमा प्रवेश गर्न उनको आग्रह छ । वडाध्यक्ष कृष्णबहादुर दर्जीले वडाभित्रका महिलाले उत्पादन गर्दै आएको साबुनले वडालाई चिनाएको भन्दै यसको थप प्रवद्र्धनका लागि तालिम सञ्चालन गरिएको बताए । सामुहिक रुपमा गुणस्तरीय वस्तु उत्पादन गर्न आग्रह गर्दै कम्तिमा पनि आफुले प्रयोग गर्ने साबुन आफैले उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा प्रशिक्षक टोपनारायण मरासिनीले तालिममा सिकेका कुरा व्यवसायको माध्यमबाट व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा पनि उत्पादनको क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तालिममा सहभागि महिलाले साबुन, हार्पिक फिनेल ह्याण्डवास र कपडा धुने डल्ला साबुन उत्पादन आफुहरुले व्यवसायीक रुपमा गर्ने प्रतिबद्धता जनाउँदै प्रवद्र्धनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् ।

यहाँ ५ दिनसम्म चलेको तालिमको सहजीकरण टोपनारायण मरासिनीले गरेका हुन् । रामपुर नगरपालिका वडा नं.२ खयरबोटमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन नगरपालिकाका उद्यम विकास सहजकर्ता रुपेश बडुवालले गरेका हुन् ।

lcci
You might also like

Comments are closed.