निस्दीमा एकीकृत घुम्ती शिविरले कृषक उत्साहित

धनबहादुर ठाडा
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन् । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट त हटेको नै छ । तर आफुहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी देखिन्छन् । यस पटकको शिविरमा पालिकाले कृषि उपज सामग्री र शैक्षिक सामग्री प्रदर्शनलाई पनि समेटिएकोले विगतको शिविरभन्दा बढी महत्त्वपूर्ण रहेको हो ।

करिब ४ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका गल्धाका सुर्यबहादुर खाम्चा आफू वडाभरिकै उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुँन पाउँदा खुशी लागेको बताए । खाम्चाले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा बहत्तरी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । शिविरमा अरु १९४ जना कृषकले कृषि उपज सामग्री प्रदर्शनीमा ल्याएका थिए । अन्य कृषकलाई पनि पालिकाले सम्मान गरेको छ ।

गएको पुस ६ गते बाकामलाङदेखि शुरूवात गरेको शिविर १२ गते शनिबार अर्चलेमा सम्पन्न गरेको छ । पालिकाको सातै वडामा सञ्चालन भएको शिविरमा ७२ वटा योजनाको सम्झौता भएको छ । त्यसैगरी १३ वटा योजनाको पेश्की भुक्तानी, २३ वटा व्यवसायको दर्ता, ३८ वटा व्यवसायको नवीकरण भएको योजना अधिकृत तथा सूचना अधिकारी अर्जुन खनालले जानकारी दिएका छन् । शिविरमा ८४ जना कृषकले माटो परिक्षण गराएका छन् । ८० वर्ष माथिका २२७ जना ज्येष्ठ नागरिकलाई सम्मान, १६ जना असहाय महिलालाई राहत वितरण र ६ जनालाई अपांग परिचयपत्र वितरण गरेको खनालले बताए ।

शिविरमा ५५१ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, ६७८ जनाको दन्त परीक्षण, २०५ जनालाई आयुर्वेद औषधी वितरण गरेको छ । त्यसैगरी ४६ जना गरिब तथा असहायलाई सुरक्षा सामग्री वितरण गरिनुका साथै २९ हजार ५५६ वटा पशुपंक्षीको लागि औषधी वितरण गरेको छ । यस पटकको शिविरमा पालिकाको ५१ वटा विद्यालयले ६७९ किसिमका शैक्षिक सामग्री प्रदर्शन गरेको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताएका छन् ।

 

lcci
You might also like

Comments are closed.