शहीद बहुमुखी क्याम्पसमा हुने महायज्ञको तयारी पूरा

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसमा मंगलबार देखि हुन गइरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

‘शहीद क्याम्पसको चाहाना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ पुस १६ देखि २३ गतेसम्म हुने महायज्ञ एवं धार्मिक महोत्सवको तयारी सम्पन्न भएको मूल आयोजक समितिले जनाएको छ । क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालन गर्न लागिएको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए ।

अन्य स्थानमा हुने महायज्ञ भन्दा पृथक ढंग बाट सञ्चालन गर्ने तयारी भएको उनी बताउँछन् । ‘महायज्ञको सम्पूर्ण तयारी तथा व्यवस्थापनका कार्य पुरा भएको छ । संस्कार र संस्कृतिको जगेर्नाका लागि धार्मिक महोत्सवलाई समेत समावेश गरेका छौं’ उनले भने । क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तित्वहरुको सहभागीतामा यज्ञ सञ्चालन गर्न लागिएको छ ।

महायज्ञ सुरु हुनुअघिदेखि नै धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई थप आशावादी बनाएको छ  । महायज्ञबाट रु ३ करोड देखि ५ करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिले जनाएको छ । समितिका अध्यक्ष भट्टराईले यस क्षेत्रका सबै सरोकारवाला र स्थानीयहरुलाई कथा श्रवण संगै महायज्ञ स्थलमा उपस्थित भएर साथ दिन अनुरोध गरेका छन् ।

यज्ञ व्यवस्थापनका लागि ५०१ सदस्य मुल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति गठन गरिएको थियो । पण्डाल निर्माण, मञ्च व्यवस्थापन, मौला पुजा, तुला दान स्थल, पुजाका लागि यज्ञ, धान दान गर्ने स्थान निर्माण, सचिवालय निर्माण, विद्युत, साउण्ड सिस्टम जडान, किसानबारी बजारक्षेत्र तथा क्याम्पस परिसर सजावत, ठाउँठाउँमा स्वागत द्वारा निर्माण लगाएतका सम्पूर्ण कार्यहरु सम्पन्न भएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुनेछ । महायज्ञ समुद्घाटनको अवसरमा मंगलबार विहान ९ बजे शोभा कलशयात्रा सहित नगर परिक्रमा हुनेछ । दिउँसो साढे १२ बजे उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह मार्फत महायज्ञको उट्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा पुस १७ गते देखि २३ गते सम्म विहान ७ बजे देखि १० बजे सम्म मूलपाठ, एक हजार ८ शालिग्राम पूजन र परिक्रमा, ११ बजे देखि सङ्गीतमय शैलीमा कथा प्रवचन र साथमा कलात्मक झाँकी प्रदर्शन, साँझ ४ बजे देखि ५ बजे सम्म विद्यार्थीहरुलाई नैतिक प्रवचनका लागि शैक्षिक प्रवचन, साँझ ५ देखि ६ बजे सम्म फूलप्रसाद वितरण र ६ देखि ७ सम्म विशेष प्रवचन हुनेछ । क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ ।

समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब ११ सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको छ

lcci
You might also like

Comments are closed.