सुशीला रेग्मी
रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आजदेखि धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु हुँदैछ । ‘शहीद क्याम्पसको चाहाना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ पुस १६ देखि २३ गतेसम्म हुने महायज्ञ एवं धार्मिक महोत्सवको तयारी सम्पन्न भइसकेको छ ।
महायज्ञको आज साढे १२ बजे उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिए । महायज्ञ समुद्घाटनको अवसरमा विहान ९ बजे शोभा कलशयात्रा सहित नगर परिक्रमा हुने, महायज्ञमा पुस १७ गते देखि २३ गते सम्म विहान ७ बजे देखि १० बजे सम्म मूलपाठ, एक हजार ८ शालिग्राम पूजन र परिक्रमा, ११ बजे देखि सङ्गीतमय शैलीमा कथा प्रवचन र साथमा कलात्मक झाँकी प्रदर्शन, साँझ ४ बजे देखि ५ बजे सम्म विद्यार्थीहरुलाई नैतिक प्रवचनका लागि शैक्षिक प्रवचन, साँझ ५ देखि ६ बजे सम्म फूलप्रसाद वितरण र ६ देखि ७ सम्म विशेष प्रवचन हुने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।
क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताए । क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तित्वहरुको सहभागीतामा यज्ञ सञ्चालन गर्न लागिएको छ । महायज्ञबाट रु ३ करोड देखि ५ करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिले जनाएको छ ।
यज्ञ व्यवस्थापनका लागि ५०१ सदस्य मुल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति गठन गरिएको थियो । पण्डाल निर्माण, मञ्च व्यवस्थापन, मौला पुजा, तुला दान स्थल, पुजाका लागि यज्ञ, धान दान गर्ने स्थान निर्माण, सचिवालय निर्माण, विद्युत, साउण्ड सिस्टम जडान, किसानबारी बजारक्षेत्र तथा क्याम्पस परिसर सजावट, ठाउँठाउँमा स्वागतद्वारा निर्माण गरिएको छ ।
क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब ११ सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन् ।
Comments are closed.