वेदकोट (कञ्चनपुर) । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जँुगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्कन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।
साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनलाई जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन् । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएको छ ।”
डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन् । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छन् । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्दै आएका छन् । उनका अनुसार रु २५० देखि ५ सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उनले भने, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक २÷३ वटा बिक्री हुँदा गुजारा चल्छ ।”
सानो आकारको जाल, मुखौरी रु २५० र ठूलो आकारको रु ५ सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितिन् । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन् । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।” रासस
Comments are closed.