भौतिक विकासलाई मात्र होइन, आध्यात्मिक ज्ञानलाई पनि महत्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

सुशीला रेग्मी
रामपुर (पाल्पा) । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्व दिनुपर्ने बताएका छन् ।

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मंगलवारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्दै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताएका हुन् । महायज्ञले समाजमा हुने विकृती र बिसंगतीलाई हटाउन ठूलो योगदान पु¥याउने हुँदा हाम्रो जीवन प्रद्धत्तिलाई फाइदा पुग्ने उनले बताए ।

रामपुर उपत्यका भविष्यमा नमुना र व्यवस्थित शहर बन्न सक्ने भएकाले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा मन्त्री सिंहले जोड दिदै यसको लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिए । साथै मन्त्री सिंहले विकास निर्माणको काममा जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए । उनले दलगत भन्दा माथि उठेर समाज परिवर्तन गर्नका लागि विकास निर्माणको काममा जनप्रतिनिधि साझा भएर लाग्नुपर्ने बताएका छन् ।

यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरु धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको यस महायज्ञ सफलताको उहाँले शुभकामना दिनुभयो । जुन लक्ष्य राखेर महायज्ञ आयोजना गरिएको छ, यस धार्मिक कार्यमा मन्त्रालयको तर्फबाट मात्र नभई आफ्नो व्यक्तिगत तवरबाट पनि आवश्यक सहयोग गर्ने मन्त्री सिंहको भनाइ छ ।

महायज्ञबाट रु ३ करोड देखि ५ करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिका अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिए । क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउँछन् ।

क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तिको सहभागीतामा यज्ञ सञ्चालन गरिएको छ । ‘शहीद क्याम्पसको चाहाना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ मंगलवारबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।

उद्घाटन हुनुभन्दा अघि शोभा कलशयात्रासहित नगर परिक्रमा गरिएको थियो । पुस १७ गते देखि २३ गते सम्म विहान ७ बजे देखि १० बजे सम्म मूलपाठ, एक हजार आठ शालिग्राम पूजन र परिक्रमा, ११ बजे देखि सङ्गीतमय शैलीमा कथा प्रवचन र साथमा कलात्मक झाँकी प्रदर्शन, साँझ ४ बजे देखि ५ बजेसम्म विद्यार्थीलाई नैतिक प्रवचनका लागि शैक्षिक प्रवचन, साँझ ५ देखि ६ बजे सम्म फूलप्रसाद वितरण र ६ वजेदेखि ७ वजेसम्म विशेष प्रवचन हुनेछ ।

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब ११ सय विद्यार्थी अध्ययनरत रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन् ।

पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्थाको रुपमा रहेको यस क्याम्पसलाई यो क्षेत्रमा शिक्षा आर्जन गर्ने महत्वपूर्ण मेरुदण्डको रुपमा लिइन्छ । २०४६ सालको जनआन्दोलनमा सहिद भएका सूर्यप्रसाद घिमिरको सम्झनामा यहाँ क्याम्पस स्थापना गरी सञ्चालन गरिएको हो ।

 

lcci
You might also like

Comments are closed.