रामपुरमा उपप्रधानमन्त्री सिंहबाट गणेशमान स्मृति प्रतिष्ठान भवन उद्घाटन

सुशीला रेग्मी
रामपुर (पाल्पा) । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर लैजानुपर्ने बताएका छन् । मंगलवार पाल्पाको रामपुर नगरपालिका ५ स्थित बेझाड बजारमा निर्माण गरिएको गणेशमान स्मृति प्रतिष्ठान भवन उद्घाटन गर्दै मन्त्री सिंहले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण, संवद्र्धन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

नेपाली जनता, राष्ट्र र राष्ट्रियत हितका लागि गरिने काममा आइपर्ने जस्तोसुकै चुनौतीलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी व्यवस्थित पार्टीको रुपमा नेपाली कांग्रेसले काम गर्नुपर्ने मन्त्री सिंह बताउँछन् । आगामी दिनमा विधि र नियम सम्मत रुपमा पार्टीलाई अगाडी बढाउनुपर्ने बताउँदै उनले आइपर्ने चुनौतीलाई सामना गर्दै लोकतन्त्रलाई मजबुत बनाउनका लागि पार्टीले त्यहीअनुसारको काम गर्नुपर्ने बताए ।

राष्ट्रियता र मेलमिलाप नीतिलाई अवलम्वन गर्नुपर्ने बताउनुहुदै प्रजातान्त्रिक मुल्य, मान्यता, राष्ट्र र राष्ट्रियता चाहिन्छ भनेर गणेशमान सिंहले जोड दिएर लागेको हुँदा नेपाली राजनीतिमा उनको छुट्टै खालको योगदान रहेको बताएका छन् । गणेशमानले सिकाएको सिद्धान्त र आदर्श राजनीतिलाई सम्मान गर्दै उनले गरेको त्याग र तपस्यालाई कदर गर्दै संस्थागत रुपमा पार्टीलाई अघि बढाउन उनको आग्रह छ ।

नेपाली जनता, राष्ट्र र समाजको सेवा गर्न राजनीतिमा हामी लागेकाले यो भावनालाई सर्वपरी राखेर काम गर्नुपर्ने सिंह बताउँछन् । “पार्टीमा लागेर हामीले लिने होइन, हामीले संस्थापक नेताले प्रजातान्त्रिक मुल्य र मान्यतालाई स्थापित गर्नका लागि गरेको धेरै त्याग र तपस्यालाई गर्नुभयो, त्यसको कदर हामीले गर्नुपर्छ” उनलेभने ।

पाँचतले भवन ७७ लाख ९३ हजार ४७८ रुपियाँको लागतमा सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले बताए । वि.स.२०७० सालमा शिलन्यास भएको भवनको २०७१ देखि निर्माण सुरु भएको थियो ।

सुरुवातमा स्थानीय विकास मन्त्रालयबाट विनियोजित रु दश लाखबाट भवन निर्माण सुरु भएको र त्यस पश्चात जिल्ला विकास समिति पाल्पाको रु दश लाख, रामपुर नगरपालिकाबाट विभिन्न समयमा विनियोजित रु ५२ लाख, अन्य दताहरुको सहयोग तथा घरभाडाबाट भवन निर्माण सम्पन्न भएको नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.