नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या १ लाख ४२ हजार

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या १ लाख ४२ हजार २२३ छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार १२३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार ८८७, मदेशमा ११ हजार ७४०, गण्डकीमा १६ हजार ९७६, लुम्बिनीमा २० हजार १५८ र सुदूरपश्चिममा ८ हजार २२८ छ ।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या ३ लाख ८७ हजार ७४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो । यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या १ लाख ६ हजार ४५९ छ । होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा रू २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रू २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब रु ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब रु १ खर्व ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ ।

अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रु ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव ४ प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव ६ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैर तारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो ।

होटलमा रहेको कोठाको सङ्ख्या १ लाख १६ हजार १ सय रहेको छ । जसमध्ये स्टार होटलमा ८ हजार ४९६ कोठा, गैर तारे होटल तथा लजमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८२९ र होमस्टेमा ३ हजार ७ सय कोठा रहेको यो अध्ययनले देखाएको छ । हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार ८५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ । रासस

lcci
You might also like

Comments are closed.