पोखरा । कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार निशुल्क स्वास्थ्य परिक्षणसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो ।
गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना सङ्कलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको छ । शिविरमा २६० जनाको स्वास्थ्य परिक्षण गरिएको बताइएको छ । कास्की कारागारमा कैदीबन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।
शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले कारागारमा रहेका कैदीबन्दीमा विभिन्न खाले समस्या देखिएको बताउँछन् । सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखिएको र धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाएको उनले बताए । कैदीबन्दीले यसभन्दा अघि परिक्षण नगरेका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटिएको छ ।
चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् । “हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौँ, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेको र करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ” उनले भने ।
युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक शिविर आयोजना गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए । सिमित स्रोत साधनका बाबजुद पनि कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको कारागार प्रमुख राजेन्द्र शर्माले जनाएका छन् ।
Comments are closed.