शहीद बहुमुखी क्याम्पसको महायज्ञमा ३ दिनमा ७४ लाख बढी दान सङ्कलन

रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर–७ किसानबारीमा जारी महायज्ञमा हालसम्म ७४ लाख ५४ बढी दान सङ्कलन भएको छ । शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना भन्ने नाराका साथ सञ्चालन भएको धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा हालसम्म ७४ लाख ५४ हजार ६७५ रुपैयाँ २२ पैसा बढी दान सङ्कलन भएको हो ।

यज्ञको तेस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा दान रकम र १४० मुरी १२ पाथी धान दान प्राप्त भएको छ । तेस्रो दिन शहीद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले र प्राध्यापक रेखा काफ्लेले २ लाख २२ हजार २२२ रुपैयाँ २२ पैसा दान गरेका छन् । रामपुर नगरपालिका ७ कठान निवासी क्याम्पसका प्राध्यापक डिल्लीराम रेग्मीले ५५ हजार ५५५ दान गरेका छन् । साथै विभिन्न व्यक्तित्व र संघ संस्थाले दान आउने क्रम बढ्दै गएको छ । यज्ञमा पहिलो दिन रामपुर नगरपालिकाको ५१ लाख ५१ हजार ५५१ र नगद २ लाख १६ हजार ८५२ नगद गरी ५३ लाख ६८ हजार ४०३ रुपैयाँ दान सङ्कलन भएको थियो । दोस्रो दिन जग्गा सहितको १६ लाख ९ हजार ४८१ रुपैयाँ बराबरको दान सङ्कलन भएको आयोजकले जनाएको छ ।

यज्ञमा हालसम्म ७४ लाख ५४ हजार ६७५ रुपैयाँ २२ पैसा दान सङ्कलन भएको आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलले जानकारी दिए । यस्तै महायज्ञमा विहिबार ८ वटा धान सङ्कलन केन्द्रबाट १२८ मुरी ५ पाथी, यज्ञस्थलमा अन्य भक्तजनबाट प्राप्त भएको १२ मुरी ७ पाथी गरी १४० मुरी १२ पाथी धान सङ्कलन भएको छ । हालसम्म ३१५ मुरी धान सङ्कलन भइसकेको र विभिन्न स्थानमा तोकिएको धान सङ्कलन केन्द्रमा धान सङ्कलन गर्ने र यज्ञस्थलमा ल्याउने कार्य भइहेको धान दान सङ्कलन समितिका संयोजक ऋषि रेग्मीले जानकारी दिए ।

विहिबार विभिन्न स्थानबाट महिला समुह, संघ संस्थाका प्रतिनिधि सहित श्रद्धालुहरु कथा श्रवण र दानका लागि महायज्ञ स्थल शहीद क्याम्पस परिसर पुगेका थिए । विहिबारको सभानायकमा बुधबार सबैभन्दा धेरैदान गरेका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहनप्रसाद भट्टराई रहेका थिए । महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भइरहेको छ ।

महायज्ञमा तुलादान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम चलिरहेको छ । गत पुस १६ गतेबाट सुरु भएको महायज्ञ यही २३ गतेसम्म सञ्चालन हुनेछ । यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए ।

lcci
You might also like

Comments are closed.