५ महिनामा ७ करोड बढी राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले ५ महिनाको अवधिमा रु ७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु ७ करोड ७१ लाख ६२ हजार १ सय सङ्कलन गरेको हो ।

कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार ९ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु १ करोड ४९ लाख १ हजार ७५०, सवारीसाधन कर रु ५ करोड ७० लाख ५५ हजार १६० र सवारी आयकर रु २७ लाख ७२ हजार ३७५ सङ्कलन भएको हो ।

यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए । उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक २५० भन्दा बढीले सेवा लिने गरेका छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए ।

“सत्र जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा ११ जना कर्मचारी मात्रै सेवामा छौँ । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । त्यसैले थोरै जनशक्तिमा काम गर्नु पर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ”, उनले भने । बायोमेट्रिकका लागि आइतबार, सोमबार, मङ्गलबार र बुधबार गरी हप्तामा ४ दिन काम गर्ने व्यवस्था मिलाइएको छ । जनशक्ति र भौतिक संरचनाको अभावमा सवारी जाँच र प्रदूषण जाँच गर्न नसकिएको कार्यालय प्रमुख ओलीले जानकारी दिए ।

वैदेशिक रोजगारी र विदेशमा पढ्न जाने विद्यार्थीलाई आकस्मिक लाइसेन्स आवश्यक परेमा सवारी ‘ट्रायल पास’ गरेपछि राजस्व लिएर एक हप्तामा अनुमतिपत्र नम्बर दिने गरिएको छ । सन् २०२३ को डिसेम्बरसम्म छापिएर आएका ९ हजार ६४५ जनालाई लाइसेन्स वितरण गरिसकिएको छ । त्यसपछिका भने छपाई प्रक्रियामै रहेका सो कार्यालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.