काठमाडौं । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो ।
सोही मागअनुसार नै यस व्यवसायमा आबद्ध व्यवसायीका लागिसमेत थप सहज भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरूपमा बीमाका क्षेत्रमा काम गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी वयवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरूपमा बीमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् ।
देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उनले बताए । कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आबद्ध व्यवसायी लाभान्वित हुने उल्लेख गरे ।
Comments are closed.