पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनका लागि प्रतिभा माध्यमिक विद्यालयले आइतबार गणित सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् ।
विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको अन्तरनिहित ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेल र प्रमुख अतिथि गणित समाजका केन्द्रीय सचिव डा. परमेश्वरी कट्टेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्राचार्य सापकोटाका अनुसार विद्यालय १७ वटा सेक्सनका ४६ वटा समूहले प्रारम्भिक प्रतिस्पर्धामा भाग लिएका थिए । तिनै समूहबाट अन्तिम प्रतिस्पर्धाका लागि ८ वटा समूह छानिए । हरेक समूहमा ३ जनाका दरले सहभागि थिए ।
‘विद्यालयस्तरको प्रतिस्पर्धा भएपनि गणित हाजिरीजवाफमा सहभागिता जनाउनु आफैमा विजयी भए सरह हो,’ प्राचार्य सापकोटाले भने, ‘आफुले आफैलाई मूल्याङ्कन गर्ने अवसर पनि हो । यस्ता प्रतिस्पर्धामार्फत कुनैपनि विद्यार्थीले आफु कुन ठाउँमा रहेको छु भन्ने पहिचान गर्न सक्छन् ।’
विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीले आफैले आफैलाई परीक्षण गर्न सक्ने पनि उनले बताए । प्राचार्य सापकोटाले गणित विषयको अध्ययनले जोकोही विद्यार्थीलाई सफलता दिलाउने बताए ।
प्रमुख अतिथि कट्टेलले गणित विषयले हाम्रो जीवन एकअर्कासँग जोड्न सघाउने बताए । विद्यार्थीमा आफुमा कुन तहको ज्ञान छ भन्ने प्रमाणित गर्न गणितले सघाउने उनी बताउँछन् । विद्यार्थीलाई अतिरिक्त ज्ञान दिलाउन शनिबार विद्यालयमै फूड फेस्टिबल आयोजना गरिएको थियो ।
Comments are closed.