काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु २ अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको बताए ।
ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु ४ करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उनले जानकारी दिएका छन् । त्यसैगरी स्रोत नखुलेको रु २ करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु १ करोड ८३ लाख अवैध काठ बरामदबाट रु १ करोड २० लाख राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु १ करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए ।
Comments are closed.