रामपुर (पाल्पा) । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरले यहाँका दुई संस्थालाई जाडोको न्यानो कपडा सहयोग गरेको छ । रामपुर नगरपालिकाभित्र अवस्थित रामपुर अस्पताल र इलाका प्रहरी कार्यालय रामपुरलाई जाडोमा प्रयोग गरिने कम्बल (बल्याङ्केट) सहयोग गरेको हो ।
अस्पतालको शैयाको प्रयोजनका लागि दश थान र प्रहरी कार्यालयको हिरासत कक्षका लागि तीन थान कम्बल हस्तान्तरण गरेको सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल ‘रमेश’ले उपचारमा आउने बिरामीलाई न्यानो कपडाले चिसोबाट बच्न सजिलो हुने बताउँदै वित्तीय क्षेत्रमा मात्र नभई सहकारीले सामाजिक भावना लिएर स्वास्थ्य क्षेत्रमा गरेको यो सहयोगलाई धन्यवाद दिएका छन् ।
जाडोमा हिरासत कक्षमा न्यानो कपडा सहयोग पाएपछि धेरै राहत मिल्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताए । पुरुष हिरासत कक्षमा धेरै व्यक्ति भएको समयमा व्यवस्थापनमा समस्या हुने भएकाले न्यानो कपडाले थप सहज हुने उनी बताउँछन् ।
अस्पतालमा रहेका विरामीलाई फलफूल समेत प्रदान गरिएको छ । सहकारीले यसअघि अस्पतालको परिसरमा प्रतिक्षालय समेत निर्माण गरेको छ । यस सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
Comments are closed.