लमजुङमा ४ सय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ । चालु आर्थिक वर्षमा जिल्लामा ४ सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । १३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट ४ सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरेका छन् ।

गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिए । कार्यालयका अनुसार गत आवमा पनि १३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट ४ सय मेट्रिकटन उत्पादन भएको थियो । आव २०७९÷८० मा १२५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ५२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

आव २०७८/२०७९ मा १८० हेक्टर क्षेत्रफलबाट १ हजार २४० मेट्रिकटन, आव २०७७/२०७८ मा २१३ क्षेत्रफलबाट १ हजार ४२४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिएका छन् । कार्यालयका अनुसार सुन्तलाका लागि लमजुङ उपयुक्त क्षेत्र भए पनि पछिल्लो समयमा विभिन्न रोग तथा किराको सङ्क्रमण, किसानमा प्राविधिक ज्ञानको कमी र बेवास्तालगायत कारणले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट र फलमा कत्ले, पतेरोलगायत किराको सङ्क्रमण भई एक बोटबाट अर्को बोटमा सार्ने, सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास आउने रोग), ग्रिनिङ भाइरसलगायत सङ्क्रमण बढ्नेको कृषि प्रसार अधिकृत थापा बताउँछन् । साथै गोडमेल र स्याहार नहुनु, सिँचाइको अभाव, बिरुवा छनोटजस्ता प्राविधिक विषयमा किसानसँग ज्ञान नहुँदा सुन्तला बगैँचा मासिँदै गएको उनको भनाइ छ ।

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा खपत हुने गर्दछ । विगतमा लमजुङमा १२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्ने गरिएकामा केही वर्षयता १३० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन कम हुँदा बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार लिएका व्यापारी बताउँछन् । रासस

lcci
You might also like

Comments are closed.