निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चालु आर्थिक वर्षमा २५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा विस्तारै काम गरिने जानकारी दिए । उनी भन्छन्, “वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।”

घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापन भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा काम सकिएको उनको भनाइ ।

निकुञ्ज ९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ८ हजार ९५५ दशमलव २ हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ । गत वर्ष रु ४० लाख ७० हजार खर्च गरेर ३७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गरिएको थियो ।

कोभिड अघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले जनाए ।

lcci
You might also like

Comments are closed.