रामपुर (पाल्पा) । रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगर सभा बिहिबार सकिएको हो ।
हिउँदे सभाले वडा तथा नगरस्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गरेको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गरेको स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले जनताको चाहानाअनुसार स्रोत साधनले भ्याएसम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताए । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको नगर प्रमुख थापा बताउँछन् । नगरपालिकाले संघ र प्रदेशसंग समन्वय गर्दै लागिरहेको र हल्लाको पछि नभई सेवामा प्रतिवद्ध भएर लाग्न उनले अनुरोध गरेका छन् ।
नगर उपप्रमुख थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको २ करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिइन् । रामपुर नगरपालिका १ का वडाध्यक्ष एवं प्रवक्ता कपिलबहादुर खाँणले अब जनप्रतिनिधिहरुले गम्भीर रुपमा सोच्ने समय आएको बताए । नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु आवश्यक रहेको र सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनले जनाए ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । रामपुर नगरपालिका–३ का वडाध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए । जनतालाई कसरी हुन्छ सहज र सरल रुपमा सेवा प्रवाहको लागि प्रतिवद्धता जनाएका छन् । रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडाध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको र नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्नु आवश्यक रहेको बताएका छन् ।
शुन्य समयमा रामपुर ८ का वडा सदस्य दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा जोड दिए । रामपुर–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताए । सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराए ।
यस्तै नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनौट भएका विप्लप गुरुङ, पूर्व कर्माचारीलाई सम्मान गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौट गरेको खेलाडीमध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपैयाँ रकमसहित सम्मान गरेको हो । नगरपालिकाले करारमा कार्यरत रही यसवर्ष उमेर हदका कारण विदा लिएका कर्मचारी ईन्द्रबहादुर अर्याललाई समेत सम्मान गरेको छ ।
नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत २ लाख ९९ हजार १६० रुपैयाँ ९८ पैसा सहित सम्मान गरेको हो । उनीहरु दुबै जनालाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चेक, सम्मान पत्रसहित दोसल्ला र ढाका टोपी ओढाएर सम्मान गरेका छन् ।
Comments are closed.