गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रमको बिहिवार विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।

गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आइएको बताएका छन् । विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको उल्लेख गर्दै उनले सिमिति साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन भएको छ ।

विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवम् शैक्षिक प्रतिवेदनबारे जानकारी गराएका छन् । कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको छ । सो अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गरेको कार्यक्रमको धन्यवादसहित समापन शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले गरेका हुन् । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदी लगायतले आफ्ना भनाइ राखेका छन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।

 

lcci
You might also like

Comments are closed.