पोखरा । पोखराका व्यवसायीले ट्राफिक प्रहरीबाट पाउने दुःख अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । राज्यलाई सबैभन्दा बढी कर तिरिरहँदा ट्राफिक प्रहरीले सडकमा व्यवसायीलाई दिने गरेको दुखको अन्त्य हुनुपर्नेमा व्यवसायीले माग गरेका छन् । अधिकृत विक्रेता संघ पोखराको १८ औं वार्षिक साधारण सभाका अवसरमा सहभागी व्यवसायीले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् ।
कार्यक्रममा नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए । राज्यले देशमा बेरोजगार बढिरहेको बताउँदा आफुहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । सडकमा सामान बोक्ने सवारी माथि ट्राफिक प्रहरीले गर्ने व्यवहारको अन्त्य हुनुपर्ने उनले बताए ।
संघका पुर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत विक्रेताले आपुर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएको कारण सहर र गाउँमा सामानको मुल्य एकै भएको बताए । उनले राज्यले सवारी करमा ढुवानी छुट दिएपनि सामान्य कुरामा भने निकै दुःख दिदैँ आइरहेको सुनाए । व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादती धेरै भएको पोखरा इलेक्ट्रिक व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलले जनाए ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले साधारण सभाको उद्घाटन गर्दै निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सरकार र निजी क्षेत्रबीचको सौहाद्र्रपूर्ण सम्बन्धको जगमा मात्रै समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह र सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिएका छन् ।
सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् ।
नेपाल वितरक महासंघ गण्डकीका प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफुहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको भनाइ छ । अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोजकुमार श्रेष्ठले अधिकृत विक्रेतालाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए ।
कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आफ्नो धारणा राखेका छन् । सोही क्रममा संस्थामा रहेको सदस्यका परिवार मध्येबाट २०८० को एसईईमा उत्तिर्ण प्रन्सुदेव पालिखेलाई सम्मान गरिएको छ । वितरक संघ महासचिव दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेका हुन् ।
Comments are closed.