भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु २ अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार २३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु १ अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउँछन् । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव ७ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा रु ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु ३ अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर ४ हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको ६ महिनामा रु १३ अर्ब ८४ करोड ४ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।
Comments are closed.