लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव ६ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार १९७ वटा मौरीका घारबाट १२९ दशमलव १७ टन मह उत्पादन भएको छ ।

जिल्लामा किसानले यस वर्ष रु १५ सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु १८ करोड आम्दानी गरेको उनको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार ८५० मौरीका घारबाट १११ दशमलव ३ टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह रु ९ सयदेखि १ हजारसम्ममा बिक्री भएको थियोभने मह बिक्रीबाट रु ९ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार ५ सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा ९ हजार ५ सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा ५ हजार ९ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ ४ हजार ५ सय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट रु ५ करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापा बताउँछन् । जिल्लामा उत्पादित मह काठमाडौं, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ ।

जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका ३८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् ।

पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए । उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थ्यो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ ।

जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार ५ देखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडा बताउँछन् । कार्यालयले यस वर्ष १२५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि रु साढे ३ करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ । रासस

lcci
You might also like

Comments are closed.