टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम काठमाडौंमा सम्पन्न

काठमाडौं । टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य–वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडरहरु र सदस्य सहभागी कार्यक्रममा नेतृत्व क्षमता, सहकार्यको महत्व र टोस्टमास्टर्सको मिशन—व्यक्तिलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको बताइएको छ । डिस्ट्रिक्ट ४१ की डिभिजन डाईरेक्टर मून प्रधानले स्वागत गरेको कार्यक्रममा निमिश जोसेफले उदघाटन गरेका हुन् ।

कार्यक्रममा रन्जीत आचार्यले सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्तिकरण गर्ने सम्बन्धमा अन्तक्रियात्मक सत्र प्रस्तुत गरे । सन्दीप रतौरी र अनन्त कट्यानीले प्रतियोगिता व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन गरेको कार्यक्रममा क्लब ग्रोथ डाईरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाईरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको जानकारी दिए । यसले क्लबलाई डिस्टिङगुइस्ड क्लबको उपाधि हासिल गर्न लक्ष्य निर्धारण र ट्रयाकिङ गर्न सघाएको छ ।

साथै, कम प्रदर्शन गर्ने क्लबको सुदृढीकरणका लागि रणनीतिहरू र दीर्घकालीन उत्तराधिकार योजना बनाउने विषयमा सत्रहरू पनि समावेश गरिएको छ । नेतृत्वको गहन अध्ययनमा केन्द्रित तालिममा टिम निर्माण र विवाद समाधानजस्ता विषयमा विशेष सत्रहरू समावेश गरिएको हो । सन्दीप रतुरीले टिम निर्माणका पाँच चरणबारे विस्तृत जानकारी गराउँदै प्रभावकारी संवाद र आपसी सम्मान मार्फत कसरी चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विषयमा सहभागीलाई मार्गदर्शन गरे ।

विनय जैनको सत्रले नेतृत्वकर्तालाई उद्देश्य–प्रेरित सफलतामा ध्यान दिन प्रेरित गर्दै चुनौतीलाई प्रभावकारी परिवर्तनको अवसरका रूपमा लिन आह्वान गरेको छ । तालिममा संगठनात्मक विकासका लागि नवीन रणनीतिको विषयमा पनि छलफल भएको छ । निमित मित्तल र राजु चौहानले टोस्टमास्टर्सका कार्यक्रमलाई कर्पोरेट मूल्याङ्कन प्रणालीसँग जोड्ने र सञ्चार माध्यममार्फत उपलब्धिलाई प्रचार गरी टोस्टमास्टरको दृश्यता र सदस्यता विस्तार गर्ने रणनीति प्रस्तुत गरे ।

अनन्त कात्यानीले सहभागीलाई प्रभाव र प्रेरणा दिन सक्ने क्षमता राख्ने सहयोगपरक नेतृत्व शैली अपनाउन प्रेरित गरेका छन् । रन्जीत आचार्यको सत्रले “एटमिक ह्याबिट्स” को अवधारणामा आधारित निरन्तर सुधार र लचिलोपनमा जोड दिंदै साना प्रगतिमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

कार्यक्रमको अन्त्यमा दीप्ती आचार्य र निमिश जोसेफले प्रस्तुत गरेको कार्यान्वयन योग्य योजना विशेष आकर्षण रहेको थियो । यी योजनाहरू सदस्यता वृद्धिका उपायहरू, नयाँ क्लब स्थापना गर्ने अवसरको पहिचान र जिल्ला स्तरीय प्रतियोगिता तथा कार्यक्रममा सक्रिय सहभागिता प्रोत्साहित गर्ने विषयमा केन्द्रित थियो ।

नेतृत्वका सदाबहार सिद्धान्तलाई नवीन अभ्याससँग समायोजन गर्दै उक्त डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्रामले व्यक्तिगत र व्यावसायिक उत्कृष्टता प्राप्त गर्ने टोस्टमास्टर्सको उद्देश्यलाई थप सुदृढ बनाएको छ । सहभागीले नेतृत्व क्षमता विकासको लागि नयाँ टुल्स, रणनीति र प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरे ।

डिस्ट्रिक्ट ४१ को नेतृत्व विकास सम्बन्धी उक्त तालिमले टोस्टमास्टर्सको यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ, जसले डिस्ट्रिक्ट ४१ लाई मात्रै नभएर समग्र टोस्टमास्टर्स समुदायलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराएको छ ।

lcci
You might also like

Comments are closed.