घोराही (दाङ) । दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गरेका हुन् ।
गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उनी बताउँछन् । अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजिकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्सालले बताएका छन् । “हरेक दिन हेल्प डेस्कमा बस्छु”, उनले भने । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भइ सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्साल बताए ।
अन्य कार्यालयको सहयोग लिएर सहजिकरण गर्ने काम समेत गर्दै आएको उनको भनाइ छ । प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रुपमा आफ्नो कुरा राख्न पाएका छन् । लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुशी लागेको बताइन् । ७६ वर्षीया जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन गएकी थिइन् ।
“छोराको ३ वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहारबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु”, हेल्प डेस्कमा उनले समस्या प्रजिअलाई सुनाउँदै थिइन् । जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै आएका छन् । आफ्नो समस्या समाधान हुनेमा उनी आशावादी हुन् ।
जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताए । हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रुपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा नागरिकलाई सहज भएको उनको भनाइ छ । यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुनेछ ।
Comments are closed.