लमजुङ । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्छन् । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्ने गर्छन् । बितेका २४ वर्ष उनलाई २४ दिन जस्तै लाग्छ ।
भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उनलाई भेडाका बथानको पछि लाग्दालाग्दैसमय बितेको पत्तै पाएन । भेडाबाख्रा पछि लागेको उनी आजसम्म तीनै भेडाबाख्राको पछिपछि लागिरहेका छन् । गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलोबाबाहरुले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुख्र्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आएका छन् ।
उनले सुरुमा आफ्नोसहित २८ जनाको ८०/९० वटा भेडाबाख्रा रहेपनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमु्रङको गरी ४५ घरका सानाठूला गरेर ८ सयभन्दा बढी भेडाबाख्रा रहेका सुनाए । उनलाई ३ जनाले सघाउँदै आएका छन् । मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेडाबाख्रा हुनुअघि करिब ५ वर्षअघि ७ सयवटा रहेको र एकै चोटि ३ सयवटा भेडाबाख्रा बिक्री गरेको र ४ सय सङ्ख्याबाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भंडी गोठाला गुरुङले बताए ।
उनी भन्छन्, “यस भेडीगोठबाट बर्सेनि १५÷१६ लाख बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ । भेडा एक वर्षकोलाई १५ हजार, २ वर्षकोलाई २० हजार तथा ३ वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ । विशेषगरी दसैँतिहार, मङ्सिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गरे ।
गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उनले सुनाए । उनले तीनजना गोठालाहरुलाई वार्षिक रु १/१ लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताएका छन् । भेडी बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ । चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उनी बताउँछन् ।
आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान ग¥यो भने त्यही पनि नहुने उनको भनाइ छ । उनले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आएका छन् । उनी भन्छन्, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पैसाबाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जेजस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प छैन” ।
आफ्नो पालासम्म आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उनले जोड दिए । उनी भन्छन्, “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।”
खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उनको भनाइ छ । लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दुःख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ उनले भने ।
यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकाले सबै भेडीगोठका भेडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताए । भेडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी बताउँछन् ।
Comments are closed.