म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । ११२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका १७० घरका ८५० जनसङ्ख्या लाभान्वित भएका छन् ।
रू ५७ लाख ५२ हजार ५८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि १ घण्टा ३० मिनेटको बाटो ५ मिनेटमा छोटिएको बताएका छन् । “पहाडको टुप्पोबाट फेदीमा झेरर जङ्गल र भिरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न पाएका छौँ ।”
धवलागिरि गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले रू ७ लाख ४९ हजार ९२ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले रू १ लाख १५ हजार २४५ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालु बताउँछन् ।
स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रू ४८ लाख ८८ हजार २५१ बराबरको सहयोग भएको छ । यस वर्ष धवलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुङ्गे पुल निर्माण भएको छ । रू ५७ लाख ८६ हजार ४८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने १०१ मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका १७४ घरका १ हजार २३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।
खोलाखर्कको झोलुङ्गे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरे । सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेका उनी बताउँछन् । समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले जनाए ।
Comments are closed.