६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व सङ्कलन

चन्द्रपुर (रौतहट) । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए ।

भन्सार विभागले आव २०८१/८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनी बताउँछन् । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले बताए ।

भन्सार प्रमुख सिंहका अनुसार, यो ६ महिनामा सबैभन्दा बढी पुसमा रु ३ करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ । यसैबीच रौतहट प्रहरीले गत साउनयता रु २ करोड ४२ लाख ७७ हजार ४४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।

सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेको भनाइ छ ।

You might also like

Comments are closed.