घोराही (दाङ) । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ ।
“भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।
गतसाउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु ९ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु २ लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ । भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु ६ लाख राजस्व सङ्कलन भएको छ ।
लक्ष्यभन्दा रु ७ लाख कम राजस्व सङ्कलन भएको छ । असोजमा रु १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७ लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा रु ६ लाख कम हो । कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ९ लाख सङ्कलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु ३ लाख कम राजस्व सङ्कलन भएको छ ।
मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९ लाख सङ्कलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु ४ लाख ७६ कम राजस्व सङ्कलन भएको छ । पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख सङ्कलन गरिएको छ । यो लक्ष्यको २२९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व सङ्कलन भएको निमित प्रमुख रजौरे बताउँछन् ।
भन्सार कार्यालयले चालु आवमा रु १ करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताएका छन् । कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनको भनाइ छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु ६ सय र मोटरसाइकलबाट प्रतिदिन रु २ सय लिने गरिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।
Comments are closed.