स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा देश पछाडी परिहेको छ : स्वास्थ्यमन्त्री सारु

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछी परिरहेको बताएका छन् । यूनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछी परिरहेको बताएका हुन् ।

उनले सुत्केरी भएको ४८ घण्टा पछी ४६ प्रतिशत आमाहरुको मृत्यूदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताए । अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राहीले छोडेर जाने उनी बताउँछन् । मन्त्री सारुले गुणस्तरीय सेवा प्रवाह नहुँदा सेवाग्राहीले सेवा प्रदायक संस्थालाई विश्वास नगर्ने र त्यो संस्था छोडेर जाने वातावरण रहेको जनाए ।

मन्त्री सारुले सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरी सेवा र शुल्क सहितको नागरिक वडापत्र राख्न निर्देशन दिइएको बताए । लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पतालमा यो लागु गरिएको उनको भनाइ छ । यूनाईटेड मिसन अस्पतालका तालिम संयोजक लेस डोर्ननले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । तालिममा सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बीरामीहरुमा प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालिम लिन पाउनु निकै राम्रो भएको र तालिमले पहिले दिइरहेको सेवा भन्दा थप सेवा दिन सक्ने आत्मविश्वास बढाएको बताए । तालिम संयोजक पशुपति न्यौपानेले तालिम भन्दा पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालिम पछी ९७ प्रतिशत प्रगति भएको जानकारी दिए ।

स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशिलताको आधारमा नतिजा प्राप्त हुने र तालिम केन्द्रले सञ्चालन गरेका तालिमको नतिजा फलो अप गरिरहेको भन्दै नतिजा आएन भने कुनैपनि तालिमको औचित्य नहुने बताए । आवश्यकता भन्दा धेरै बर्थिङ सेण्टरहरु भएको भन्दै त्यसको व्यवस्थापन जरुरी रहेको उनी बताउँछन् ।

अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा यूनाईटेड मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकलाई सेवा दिइरहेको बताए । तालिमका सहभागिहरु पृथबहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताएका छन् । गत मङ्सिर १३ गतेदेखी ६० दिनसम्म चलेको तालिममा रोल्पा, दाङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, बर्दीया, रुकुम लगायतका जिल्लाका सहभागी थिए ।

You might also like

Comments are closed.