पाल्पा । पाल्पाका १० हजार ४५८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिइने भएको छ । आइतबार स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम आयोजना गरी खोप अभियानको सुरु गरेको हो ।
पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप १० देखि १४ वर्ष उमेर समुहका किशोरी र कक्षा ६ देखि १० सम्मका छात्रा विद्यार्थीहरु दिइनेछ ।पाल्पामा दुई चरणमा यो खोप अभियान हुनेछ । पहिलो चरणमा माघ २२ गतेदेखि २६ गतेसम्म रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, पुर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा अभियान चल्नेछ ।
दोस्रो चरणमा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म रैनादेवीछहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकामा अभियान हुनेछ । १० हजार ४५८ मध्ये विद्यालय बाहिरका ७० जना किशोरीहरु रहेका छन् । एच.भि.पि. खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने खोप हो । यसले ९८ प्रतिशत पाठेघरको मुखको क्यान्सर रोक्ने रामपुर अस्पतालका मेडिकल अधिकृत डा सागर पोखरेलले बताए ।
नेपालमा प्रत्येक वर्ष १ हजार ३१३ जना (प्रत्येक दिन ४ जना) महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्याङ्क छ । स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले गर्भवती महिला, क्यान्सर भएका, अपरेसन गरेका सिकिस्त बिरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताए ।
विद्यालय नजाने किशोरीलाई गाउँ, टोल र पिछडिएका वर्ग समुदायका किशोरीलाई समेट्ने उद्देश्यले थप खोप केन्द्र सञ्चालन गरिएको उनी बताउँछन् । अभिमुखीकरणमा पाल्पामा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले खोप अभियान सफल बनाउन आ—आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
जिल्ला स्तरीय खोप समन्वय मितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले अभियान सञ्चालनलाई सबैले प्रचार गरी सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले १० वटै स्थानीय तहसंग समन्वय गरी सरोकारवालासंग छलफल र तयारी भइरहेको बताएका छन् ।
Comments are closed.