रामपुर महोत्सव आजदेखि शुरु हुँदै

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा आजदेखि चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवम् व्यापार मेला शुरु हुँदैछ । उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, कला संस्कृतिको जगेर्ना गर्नुका साथै व्यावसायिक सम्भावनाको उजागर गरी लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्यका साथ चौथो संस्करणको मेला हुन लागेको हो ।

“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नारा सहित माघ १५ देखि २७ गते सम्म हुन गइरहेको मेलाको मेलाको तयारी पुरा भएको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुने मेलाको पूर्व सन्ध्यामा पत्रकार भेटघाट गरी संघले सोमबार साँझ अन्तिम तयारीको बारेमा जानकारी गराएको हो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाको तयारीको कार्य सकिएको जानकारी दिए । चौथो संस्करणको मेला विशेषगरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार संगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गर्न लागिएको ढकालले बताए ।

मेलास्थलमा विगतमा उट्घाट्न पछि मात्र व्यवसायीहरु स्टलमा आउने गरेपनि यस पटक अगाडी नै अधिकांश व्यवसायीहरु स्टलमा आइसकेको आयोजकले जनाएको छ । मेलामा ३५० भन्दा बढी व्यापारिक स्टलहरुमध्ये स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकता दिइएको छ । यस पटक यस क्षेत्रको विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाका लागि चार वटा स्टल राखिने अध्यक्ष ढकालले जनाए ।

मेलाबाट आयात भन्दा बढी यहाँका स्थानीय सामग्री निर्यात कसरी गर्न सकिन्छ भन्नेमा संघ केन्द्रित छ । यहाँका कला संस्कृति संग सम्बन्धित झाँकी प्रदर्शनी गरिनेछ । मेलामा दुई देखि तीन लाख दर्शक भित्र्याउने र एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिएको संघका बरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

संघले रामतुलसी माविको खेलमैदान बेझाँडमा १३ दिन सम्म सञ्चालन हुने मेलामा प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकोप्टर, प्यारागलाईडिङ्गबाट दृश्य अवलोकन, अण्डर वाटर फिस टनेल, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति सहित लोकदोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहने संघले जनाएको छ ।

महोत्सव उद्घाटन अघि मंगलबार विहान ११ बजे विभिन्न कला संस्कृतिसंग सम्बन्धित सांस्कृतिक झाँकी सहितको र्याली निकालिनेछ । दिउँसो नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव अवलोकनका लागि ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विद्यार्थी र ८० वर्ष मुनिका ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ र अन्य नागरिकलाई एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार रामचन्द्र नेपाल, बन्दना पोखरेल, सीता डोटेल, इमान सिं राना, प्रकाश ज्ञावली, शोभाकान्त पाठकले आफ्ना जिज्ञासा राखेका छन् । संघका विभिन्न उपसमितिको उपस्थितिमा भएको पत्रकार भेटघाट कार्यक्रम महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक बासुदेव ढकालको अध्यक्षता र सहसंयोजक दुर्गेश मल्लको सञ्चालनमा भएको हो । मेलाको पूर्वसन्ध्यामा रामपुरको मुख्य बजार बेझाँड सहित अन्य बजार क्षेत्र बेहुली झै सिंगारिएको छ । महोत्सवको लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण र ध्वजा पटका टाँगिएको छ ।

You might also like

Comments are closed.