सुशीला रेग्मी
रामपुर (पाल्पा) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकारले युवालाई स्वदेशमै स्वरोजगार बन्ने प्रयत्न गरिरहेको बताएका छन् । पाल्पाको रामपुर नगरपालिकामा मंगलवारदेखि सुरु भएको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवम् व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री शाहीले उद्योगी, व्यवसायीलाई सहज हुने गरी नयाँ कानुन बनाएर नेपालमै बसेर स्वरोजगार बन्ने वातावरण सिर्जना गर्न सरकारले पहल गरिरहेको बताएका हुन् ।
युवा विदेशिन क्रम रोक्न यहाँ रहेका उद्योग तथा व्यवसायलाई व्यवस्थित गर्ने, नयाँ उद्योग स्थापना गरेर लगानीमैत्री वातावरण सिर्जना गर्ने, निजि क्षेत्रलाई प्रोत्साहित गर्दै देशमा समृद्धि ल्याउन सरकारले नयाँ अध्यायदेश ल्याएको उनले जनाए । देशमा लगानीमैत्री वातावरण नबन्दा उद्योगी, व्यवसायीको क्षेत्रमा समस्या भएपछि उद्योग व्यवसायीको हितमा रहेर उनीहरुलाई प्रोत्साहित गर्न नयाँ अध्यायदेश ल्याइएको मन्त्री शाहीले बताए । पूराना कानुनले उद्योगीलाई काम गर्न अप्ठ्यारो बनाएको थियो, नयाँ अध्यायदेश आएपछि निजि क्षेत्रलाई सहज हुने उनको भनाइ छ ।
वर्तमान सरकारले नेपाली जनतामा प्रत्याभुत हुने तरिकाले विभिन्न किसिमका अध्यायदेश ल्याइएको बताउँदै मन्त्री शाहीले अध्यायदेशको विषयवस्तु हेर्ने हो भने अती महत्वपूर्ण रहेको जनाएका छन् । भूमिहिन किसान, सुकुम्वासी, अव्यवस्थित बसोबासीको लागि अहिलेको भूमी ऐन धेरै हितमा रहेको मन्त्री शाही बताउँछन् । वन तथा वातावरण मन्त्रालयले धेरै पूराना ऐन, कानुन अनुसार काम गर्नुपर्दा कामकाजमा केही अप्ठ्यारो बनाएकाले केही ऐन तथा कानुन संशोधन गरियो भने सहज र विकास निर्माणको काम अघि बढ्नेछ भने वन क्षेत्रको दीगो विकासका लागि ऐन परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले नेपाली जनतामा आशा र भरोसा जगाउँदै देशमा गतिशिल रुपमा विकास निर्माणका गतिविधि अगाडी बढाउँदै गएको बताएका छन् । मन्त्री शाहीले देशमा सुशासन कायम राख्दै विकास निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाएर समृद्ध नेपाल सुखी नेपाली भन्ने सङ्कल्पका साथ देशलाई अगाडी बढाउन सरकार लागिपरिरहेको बताए । कालीगण्डकी नदीको तहमा रहेको रामपुर क्षेत्र धार्मिक, पर्यटकीय र बहुआयामिक महत्वपूर्ण बोकेको उनले जनाए ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा मेला सञ्चालन गरिएको हो । उद्योग तथा व्यवसायलाई चलायमान गराउन, कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, कला संस्कृतिको जगेर्ना, व्यावसायिक सम्भावनाको उजागर गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्धेश्यले चौथो संस्करणको रुपमा यहाँ मेला आयोजना गरिएको हो ।
मेलामा ३५० भन्दा बढी व्यापारिक स्टल छन् । जसमध्ये स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकता दिइएको छ । यस पटक यहाँको मगर, नेवार, दरै र चेपाङको मौलिक खानाका लागि चारवटा स्टलको व्यवस्था गरिएको छ ।
आयात भन्दा बढी यहाँका स्थानीय सामग्री निर्यात कसरी गर्न सकिन्छ भन्नेमा मेला केन्द्रित छ । मेलाको अवसरमा स्थानीय कला, संस्कृतिसंग सम्बन्धित झाँकी प्रदर्शनी गरिनेछ । करिव ३ लाख दर्शक भित्र्याउने र रु एक करोड २० लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिइएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।
प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित वस्तु प्रदर्शनी तथा विक्री हेलिकोप्टर, प्याराग्लाईडिङबाट दृश्यावलोकन, अण्डर वाटर फिस टनेल, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति सहित लोकदोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवम् पर्यटकियस्थलको फोटो प्रदर्शनी मेलाको आकर्षणको रुपमा रहनेछ ।
उद्घाटनको अवसरमा विभिन्न समुदायका सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ । पहिलो दिन लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा लगायतका कलाकारको प्रस्तुती रहेको थियो । “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नारासहित मंगलवारदेखि सुरु भएको मेला आउँदो माघ २७ गतेसम्म चल्नेछ ।
Comments are closed.