नेपाल स्टार्टअप र एसएमई सम्मेलन नविन उत्पादन र लगानीकर्तालाई अवसर : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नविन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताएका छन् ।

ललितपुरको सानेपामा बुधबार नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “यस सम्मेलनले विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ ।”

सभापति देउवाले नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “खासगरी केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु ।”

गाउ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको उल्लेख गर्दै सभापति देउवाले भने,“गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ । पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् ।”

सभापति देउवाले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिनेसमेत उल्लेख गरेका छन् । उनले थपे, “यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।”

उनले यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको समेत जानकारी गराएका छन् ।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठनको औचित्यबारे प्रस्ट पार्दै भने, “नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवद्र्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीको समस्या बुझेर पार्टीलाई सुझाव दिन यो विभाग गठन गरिएको हो । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।”

उनले सरकारले मुलुकको समुन्नतीका लागि सूचना प्रविधि क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताएका छन् । यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्ने समेत बताएका छन् ।

सम्मेलनमा अतिथिलाई स्वागत गर्दै विभागका संयोजक उर्मिला थपलियाले यस सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, “दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने र युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा पार्टीलाई समेत टेवा पुग्नेछ ।”

बुधबार र बिहीबार गरी नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण लगायतका विभिन्न ६ वटा विषयमा विभिन्न सेसनमा छलफल हुनेछ । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धि गर्ने लगायत लक्ष्य राखिएको छ ।

You might also like

Comments are closed.