रामपुर (पाल्पा) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन पाल्पा शाखाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले विदेशबाट काठ आउने तर स्वदेशी काठ जंगलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने र विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताए ।
वन ऐन, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उनले जानकारी दिदै वातावरण परिवर्तनले देशले भोग्नु परेको बताए । वन्यजन्तु र मानव बीच चलिरहेको द्वन्द्वका कारण मानिसले धेरै दुःख पाइरहेको हुँदा अब वन ऐन संशोधन गरेर समस्या समाधान गर्न खोजिएको जानकारी दिएका छन् ।
“हात्ती, बाघ, गैँडा, बाँदर जस्ता वन्यजन्तुका कारण मानिसले धेरै दुःख पाइरहेको अवस्था छ, बँदेल र बाँदरलाई नयाँ नीति ल्याएर कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानको प्रयास गर्न खोजिएको छ” मन्त्री शाहीले भने ।
विकास निर्माण र वनबीचको अत्यन्त नजिक सम्बन्ध छ तर साना कारणले अप्ठ्यारो स्थिति सिर्जना भएको हुँदा सबै समस्या समाधान गर्नका लागि ऐन संशोधन र परिमार्जन गर्न लागिएको उनले जनाए । यसले गर्दा आगामी दिनमा मानव समुदायले वनबाट भोग्नु परेका समस्याहरु धेरै समाधन हुने उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री शाहीले कालीगण्डकी डाईभर्सनको चिन्ता र चासोलाई सरकार समक्ष राख्ने बताए । आगामी दिनमा यस क्षेत्रका नागरिकको सोँचलाई साकार पार्ने कार्यमा आफू र मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्रालयको तर्फबाट यो क्षेत्रको संरक्षण र प्रवद्र्वनका लागि आगामी वजेट निर्माणमा, संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा उनको जोड छ । रामपुर शहरलाई आधुनिक हिसावले योजना बनाइएको हुँदा सबैको साँझा सोँच र प्रतिवद्धताका हिसावले अगाडी बढ्न सकिने उनको भनाइ छ । रासस
Comments are closed.