त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौं । बिहीबारदेखि सुरु हुने नेदरल्यान्डस र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाकोे ट्रफी सार्वजनिक गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकी हुन् । पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरिन् ।

नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ । यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरिन् । शृङ्खलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् । बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.