नवअरुणिमा माध्यमिक विद्यालयमा साँस्कृतिक कार्यक्रम

काठमाडौं । नवअरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित नवअरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताए । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानको इतिहास र वर्तमान अवस्थाको समीक्षा र विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद दङ्गालले शैक्षिक सत्र २०८०/८१ का उपलब्धि सहित विद्यालय प्रगति विवरण प्रस्तुत गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका वरिष्ठ समाजसेवी एवं साहित्यिक व्यक्तित्व गोपालप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका गुठियार शम्भुप्रसाद बडाल, केशव जोशी, घनश्याम आचार्य क्षेत्री, अर्जुन शाक्य लगायत सहभागी थिए । अभिभावकका तर्फबाट प्रतिनिधिका रुपमा प्रह्लाद कार्कीले विद्यालयको प्रगतिको शुभकामना दिए । विद्यार्थीका गीत, नृत्य, एकाङ्की नाटक लगायतका कार्यक्रम अवलोकन पश्चात् गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले विद्यार्थीलाई पढाईसँगै शैक्षिक क्रियाकलाप र सन्तुलित खानपान आवश्यक रहेको बताइन् ।

सोही अवसरमा कार्यक्रमका सभाध्यक्ष गोपालप्रसाद बरालले आफ्नो स्व. भान्जा अमोद पराजुलीको स्मृतिमा अरुणिमा शैक्षिक प्रतिष्ठानका क्रिकेट खेलाडीलाई पुरस्कार व्यवस्थापन गर्न ५ लाख ५ हजार ५५५ रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।

 

You might also like

Comments are closed.