फेवातालमा माछाका भुरा छाडियो

पोखरा । विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । पोखरा महानगर पालिका वडा नं–६ को आर्थिक सहयोग र हर्पन फेवा मत्स्य सहकारी संस्थाको को आयोजनामा फेवा तालमा २५ हजार माछाका भुरा आइतबार छाडिएको हो ।

स्थानीय जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको पर्यवारणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–६ को वडा स्तरीय बजेटबाट रु १ लाख ५० हजार रुपैयाका माछाका भुरा खरिद गरि तालमा छाडिएको वडा सदस्य बासु बरालले जानकारी दिए । स्थानीय जातका सिल्भर कार्प, विगहेड, ग्रास कार्प, रहु, र नैनी माछाका भुरा तालमा छाडिएको उनले बताए ।

कार्यक्रमका अतिथि एवंम पोखरा महानगरपालिका वडा नं–६का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यावरणीय सन्तुलनका साथै फेवाताललाई जिवन्त तुल्याउँदै स्थानीय जलारी समुदायको पेशाको समेत संरक्षण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । अध्यक्ष भट्टराईले फेवाताललाई प्रदुषण मुक्त बनाएर तालमा पाइने माछालाई ब्राण्डिङ गर्नुपर्ने बताएका छन् । बर्षेनी वडाको बजेट मार्फत माछाका भुरा छोडदै आएको स्मरण गर्दै तालसँग आश्रित जलारी समुदायको पेशालाई संरक्षण गर्ने वडा कार्यालय लागि परेको उनले सुनाए ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले वडा नम्बर– ६ बाट भुरा छोड्ने कामलाई वडाले बार्षिक क्यालेन्डरको रुपमा राखेकोमा खुसी लागेको बताए । जलारी समुदायको जीवन आर्थिक रूपमा सबल बनाउनका लागि ताल र सिमसार क्षेत्रको संरक्षका लागि ३ वटै सरकारलाई सहयोग गर्ने आग्रह गरेका छन् ।

कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका उपाध्यक्ष राजु जलारी, पोखरा महानगरपालिका वडा नं–६ का वडा सदस्यहरु पवित्रा थापा र शोभा जलारी लगायतले आफ्ना भनाइ राखेका छन् । सो अवसरमा स्थानीय जलारी समुदाय, आमा समूह र स्थानीय लगायत सहभागी थिए ।

You might also like

Comments are closed.