नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २ हजार ७३० को विन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर १ लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ ० दशमलव ५४, जीवन बीमा ० दशमलव ६७, उत्पादन तथा प्रशोधन ० दशमलव २७, लघुवित्त ० दशमलव १०, म्युचुअल फन्ड ० दशमलव ७८, निर्जीवन बीमा ० दशमलव ८२ र व्यापार समूह ० दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैङ्क ० दशमलव ३९, वित्त १ दशमलव ०७, होटल तथा पर्यटन ० दशमलव ०१, जलविद्युत् ० दशमलव ४८ र लगानी समूह ० दशमलव ४७ प्रतिशतले घटेको हो । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ६ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.