सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पा जिल्लामा सुन्तला उत्पादन बढेको छ । जिल्लामा ९ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गतवर्ष ८ हजार ८६१ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अघिल्लो वर्ष भन्दा यस पटक करिव ३३७ मेट्रिकटन उत्पादन बढेको पाइएको छ ।
यसवर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गतवर्ष भने रु ४६ करोड ७ लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्ष भन्दा बढी यसवर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।
“सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसानहरु व्यवसायीक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यसवर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ” उनले भने ।
रैनादेवीछहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा ३ हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा ३ हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा सुन्तला उत्पादनका लागि १ हजार १९६ हेक्टर क्षेत्रफल रहेतापनि १ हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशिल क्षेत्र हो । पाल्पाका १० पालिकामध्ये ६ वटा पालिकामा व्यावसायीक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायीक उत्पादनमा जोड दिएका छन् ।
Comments are closed.