हेटौँडामा दैनिक ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन

मनहरी (मकवानपुर) । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरवासीलाई २८ हजार ११२ धारामार्फत दैनिक ९ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो ।

बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४सैँ घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिए । उनका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् । नगर क्षेत्रभित्रको वडा नं ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हँुदै आइरहेको उनी बताउँछन् ।

हेटौँडा उपमहानगरले नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले विसं २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । सोही कारणले १० हजार लिटरमात्र खानेपानी खपत गर्ने उपभोक्ता थप लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्युबवेल निर्माण सम्पन्न गरेको जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकामा तीन, भीमफेदी गाउँपालिकामा दुई र हेटौँडा–९ मा एक थान समवेल निर्माण निजी स्रोतमार्फत सम्पन्न भएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्टले जानकारी दिए । उनका अनुसार विभिन्न १२ स्थानमा पम्प तथा पालेघर निर्माण सम्पन्न भएको छ । करिब ४ सय किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न, सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब रु १५ करोडमा ‘ओभरहेड’ पानीट्याङ्की एक, भूमिगत पानीट्याङ्की तीन, ‘डिपबोरिङ’ चार, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्ट बताउँछन् ।

सङ्घीय सरकारको करिब रु ८ करोडको लगानीमा हेटौँडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्याङ्की, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणसम्बन्धी अधुरा रहेका योजना सम्पन्न गर्न बोर्डबाट रु ३ करोड लगानी गरी निर्माण सम्पन्नपश्चात् सेवा सञ्चालन भएरहेको छ । बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौँडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौँडा–१६ मा डिपट्युबवेल, त्रिशूलेमा ५ लाख लिटर क्षमताको भूमिगत पानीट्याङ्की र करिब २० किमी प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

हालसम्म बोर्डमा हेटौँडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित ९ हजार ५ सय धारा हस्तान्तरण भइआएका छन् । रासस

You might also like

Comments are closed.