काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व क्षमतामा निर्भर हुने बताएका छन् ।
राजस्व अनुसन्धान विभागको आयोजना तथा महासंघको समन्वयमा मंगलवार राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि अन्तक्र्रियामा बोल्दै कुनै पनि मुलुकको सवल अर्थव्यवस्था निर्माणमा आन्तरिक श्रोतको दक्ष र प्रभावकारी परिचालनको महत्वपुर्ण भुमिका रहने बताएका हुन् । महासंघको सचिवालयमा आयोजित अन्तक्र्रिया बोल्दै अध्यक्ष ढकालले अपेक्षित राजस्व सङ्कलन हुनको लागि उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताए ।
“कतिपय अवस्थामा वैध व्यवसाय गर्नेहरु पनि नियमनकारी निकायको अनुगमनको नाममा अनावश्यक झमेलामा पर्ने गरेको आवाज व्यवसायीबाट आउने गरेको छ, यसले व्यवसायीको अतिरिक्त समय र आर्थिक भार बढ्न गई व्यवसाय महंगो हुने र प्रतिष्पर्धी क्षमतामा ह्रास आउने गरेको छ, यसतर्फ पनि विभागको समुचित ध्यान जाओस्” अध्यक्ष ढकालले भने । अर्थतन्त्र चलायामान भई बजारमा मागको वृद्धि भएमात्र आर्थिक गतिविधिमा बढ्न जाने, उत्पादन तथा व्यवसायमा सुधार आउनुका साथै राजस्व सङ्कलन पनि वृद्धि हुन जाने उनी बताउँछन् ।
हालै जारी अध्यायदेशबाट यस विभागको कार्यक्षेत्रभित्र पर्ने राजस्व चुहावट ऐन २०५२ का केही प्रावधानमा संशोधन भएको र संशोधनमा समेटिएका मूलतः मुद्धा दायर गर्ने विगोको सीमा ५० लाखबाट ३ करोड बनाइएको, मुद्धा दायर हुनु अगाडी सम्वन्धित व्यक्तिले बिगो र सो बमोजिमको जरिबाना बुझाउन चाहेमा मुद्धा नचलाउने निर्णय गर्न सक्ने, मुद्धा दायर पछि पनि मिलापत्र र मुद्धा फिर्ता लिन सक्ने संशोधित प्रावधानले व्यवसायिक वातावरण निर्माण गर्न थप सहयोग पुग्न जाने विस्वास निजी क्षेत्रले लिएको समेत अध्यक्ष ढकालले जानकारी दिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुबैको उद्धेश्य वैध व्यापारलाई प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने भएकोले सरकार निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए । विभागको उद्धेश्य कसैलाई दुःख दिने नभई नियमन र सहजिकरण भएको उल्लेख गर्दै विद्यमान नीति नियमका बारेमा व्यवसायीमा अन्यौल भए आफुहरु सहजिकरण गर्न सदैव तयार रहेको उनी बताउँछन् ।
सो अवसरमा व्यवसायीले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन गुणस्तरिय प्रविधिको प्रयोग सहित प्रविधिको प्रयोगलाई थप व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
Comments are closed.