सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वन भित्र पर्ने ६ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र संबद्र्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताए ।
“यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ”, उनले भने,“तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।”
उनका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका ५ डुङ्गामध्ये २ मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु १ करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिए । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उनी बताउँछन् ।
नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि ५ करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिए । नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको ६ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उनको भनाइ छ ।
वर्तमान नगरप्रमुख महेशप्रसाद चौधरीलाई धेरै पटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उनले गुनासो गरेका छन् । देवीदहको विकासका लागि आफूले सकेको सहयोग गरिरहेको यसै वडाका वडाध्यक्ष प्रथमलाल चौधरी बताउँछन् । उनी भन्छन्,“वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।”
गत वर्ष वडाको ८ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उनले जानकारी दिए । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बद्र्र्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाध्यक्ष चौधरीको भनाइ छ । रासस
Comments are closed.