सराङकोटमा आउँदो फागुन १४ देखि श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

कास्की । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यस पटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फाल्गुन १४ देखि (महाशिवरात्री पर्व) १२ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसिले जानकारी दिए ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनामार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिवलिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरीएको र सोही दिन उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष जिसिले बताए ।

यो महाउत्सवलाई पोखरा भ्रमण वर्षको रुपमा पोखराको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्वलाई उजागर गर्दै, सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । धार्मिक आस्थाका साथै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको पोखरा महानगरपालिका प्रमुख आचार्य बताउँछन् ।

महाशिवरात्री जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्नेछ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताए ।

सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय छ । यो महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरीएको पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए ।

यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ । धार्मिक र पर्यटकहरूको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकारमार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेल बताउँछन् ।

धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै धार्मिक पर्यटन महोत्सव सम्पन्नका लागि १ हजार १११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समितिमार्फत स्थानीय संघ संस्था, विभिन्न समुहलाई समेट्दै महाउत्सव तयारी सुरु गरीएको प्रचार–प्रसार संयोजक कृष्ण थापाले बताए । महाउत्सव सम्पन्नका लागि सराङकोट क्षेत्रका सम्पूर्ण महिला समुहहरु सक्रिय रहने वडा सदस्य एवं महिला समन्वय संयोजक कल्पना ढकालले बताइन् ।

सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योगध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि आकाशे सिसाको पुलसहितको थप योजना सम्पन्नको लागि महाउत्सव फलदायी हुने सचिव दिलबहादुर जिसीले बताएका छन् ।

You might also like

Comments are closed.