रामपुर (पाल्पा) । चौथो रामपुर महोत्सव तथा व्यापार मेला भव्यताका साथ सम्पन्न भएको छ । गत माघ १५ देखि भएको मेलाको सफलता प्राप्ति गर्दै आइतबार समापन गरिएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको मेलाको कार्यक्रम गरी विधिवत रुपमा समापन गरिएको हो । लाखौं दर्शकको उपस्थिति र करोडौंको व्यापार गर्दै मेलाको समापन गरिएको छ ।
लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समापन गर्दै रामपुर नगरपालिकालाई मुलुकको शासकिय स्वरुपमा सिमित नराखी कालीगण्डकी महानगरको अवधारणाका साथ अघि बढाउनु आवश्यक रहेको बताए । कालीगण्डकी नदीले रामपुर र अन्य जिल्लाको सिमा निर्धारण गरे पनि कालीगण्डकी उपत्यकाको समुदाय, कला र संस्कृति समान रहेको बताउँदै कालीगण्डकी उपत्यकाको एकिकृत विकासमा साझा अवधारण बनाएर अघि बढ्नु आवश्यक रहेको उनी बताउँछन् । उनले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको कालीगण्डकी उपत्यका भित्र रहेका भुगोललाई महानगरको रुपमा विकास गरी अघि बढाउनु पर्नेमा जोड दिए । रामपुरको विकासमा महोत्सवले महत्वपूर्ण भुमिका खेलेको र रामपुर महोत्सवले देश आर्थिक मन्दीमा छ भन्दै गर्दा रामपुर महोत्सव दर्शकको उपस्थिति र व्यवसायले फरक सन्देश दिएको उनले बताएका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मुलुकको अर्थतन्त्र जबसम्म चलायमान हुन सक्दैन तबसम्म आर्थिक विकासले गति लिन नसक्ने बताए । मेलाले उद्योग तथा व्यापार मात्र नभै खेल तथा कला संस्कृतिमा रहेका नयाँ प्रतिभाहरुले पनि सिक्ने अवसर प्राप्त गरेको र महोत्सव समग्रमा सफल भएको नगर प्रमुख थापा बताउँछन् । रामपुर नगरको समग्र विकासलाई तिव्र गतिमा अघि बढाइएको र नगरपालिकालाई उत्पादन संग जोड्न पहल गर्दै आएको उनले जनाए । नगर उपप्रमुख बालकुमारी थापाले महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थितिले मेला सफल भइसकेको बताउँदै अब फराकिलो खुल्ला स्थानको आवश्यकताको महशुस गराएको बताइन् । उद्योग तथा व्यापार व्यवसायको प्रवद्र्धनका लागि उद्योग वाणिज्य संगको सहकार्यमा कार्यक्रम गर्ने उनी बताउँछिन् ।
रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजिल दिन मियाँले मेलाले गण्डकीबेशी क्षेत्रको पहिचानलाई थप स्थापित गर्न सफल भएको बताएका छन् । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईले विगतको महोत्सवको तुलनामा यस पटकको महोत्सव उत्कृष्ट भएको बताए । नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिलबहादुर गाहाले रामपुरको पहिचान, धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार संगै व्यापारमा महत्वपूर्ण टेवा दिएको बताएका छन् । नेकपा मोओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष भिम विश्व भट्टराईले मेला सबैको साथ र सहयोगले सपलता प्राप्त गर्न सफल भएको जनाए । रामपुर वडा नं. ७ का वडाध्यक्ष दोवराज तिवारीले थोपाथोपामा रहेका पुँजीलाई चलायमान गराउन सकेमात्र विकासले गति लिन्छ भन्ने कुरा उद्योग वाणिज्य संघले प्रमाणित गरेको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण टेवा दिएको बताउँदै अब स्थानीय उत्पादनलाई बजार संग जोड्ने वातावरण तयार गर्नु आवश्यक रहेको जनाइन् । महोत्सव सोँचे भन्दा बढी लक्ष्य प्राप्त गर्दै सफलताका साथ सम्पन्न भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । मेला समापनको अवसरमा उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिने सरोकारवालाको सहयोग व्यवसायी तथा दर्शकहरुको साथले महोत्सव सफल भएको बताएका हुन् । रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले दर्शकहरुको साथ र सहयोगले आयोजकलाई थप उत्साहित बनाएको बताए ।
संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, सहभागीलाई वाणिज्य उपाध्यक्ष विष्णुबहादुर सारुले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन महासचिव खिमबहादुर केसी पुरुषोत्तमले गरेका हुन् । मेला समापनको अन्तिम दिन आइतबार पनि उल्लेख्य सहभागीता रहेको थियो । मेलामा आइतबार चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, डिप्लव खाती, मोडल तथा डान्सर आस्था न्यौपाने, श्रेया थापा मगर सहित स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । कलाकारको प्रस्तुतिसँगै मेलामा उपस्थित दर्शकले छमछमी नाचेर तथा संगसंगै गाएर कलाकारलाई साथ दिए । मेला समापनको अवसरमा आयोजक रामपुर उद्योग वाणिज्य संघले महोत्सवको जिङ्गलमा टिकटक भिडियो बनाउने टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट हुन सफल शिशिरजंग रेग्मीलाई पुरस्कृत गरेको छ ।
मेलाको अन्तिम दिन सांस्कृतिक कार्यक्रम स्थल, बिक्री स्टल पनि दर्शकले खच्चाखच भरिएको थियो । साथै बिक्री स्थलमा पनि किनमेल गर्नेहरुको भिड नै लाग्यो । कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेलास्थल दैनिक दर्शकले अत्याधिक उपस्थिति रहेको थियो ।
मेलाका स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिइएको छ । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको हो । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै समुदायको मौलिक खानाको स्टल रहेको थियो ।
मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार बिक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री, अण्डर वटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवको उपस्थितिमा भलिबल प्रतियोगिता, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको थियो ।
Comments are closed.