पौवादुङ्मामा वृद्धिमुखी उद्यमशिलता रोजगार प्रवद्र्धन कार्यक्रमको सुरुआत

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवद्र्धन कार्यक्रम’को सुरुआत गरिएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्ष लागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परक्षिण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु ४० लाख, गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख गरी कूल रु ७५ लाख लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यवसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उनी बताउँछन् । “त्रिपक्षिय लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यो कार्यक्रमअन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यवसायिकीकरण र बजारीकरणको लागि प्रोत्साहन गरिनेछ ।”

प्रारम्भिक चरणमा ४० उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र दश गरेर उत्कृष्ट १० उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिने प्रशासकीय अधिकृत भट्टराईले बताए । नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशमा रहेका १३७ स्थानीय तहमध्ये ५ स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राई बताउँछन् ।

भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र ‘पाइलट प्रोजेक्ट’का रुपमा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । प्रदेश सरकारले वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवद्र्धनका लागि प्राथमिकता साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिएका छन् ।

“उद्यमशिलता र रोजगारी वृद्धिका लागि यो निकै महत्वपूर्ण कार्यक्रम छ”, अध्यक्ष राईले भने, “जिल्लाका ९ स्थानीय तहमध्ये यस वर्ष पौवादुङ्ममा मात्र यो कार्यक्रम सुरुआत भएको छ, यसले यहाँका विभिन्न उद्यमसँग जोडिएकालाई आवश्यक सहयोग गर्नेछ ।” यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रमअन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवद्र्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ । छनोटमा परेका उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ । रासस

You might also like

Comments are closed.